- 19 May 28 by Mphasis
गोदावरी नगरपालिकाका सम्पूर्ण निकायमा ई–हाजिरी प्रणाली जडान
कैलालीको गोदावरी नगरपालीका वडा नं. १० मा रहेका सामुदायीक विद्यालयहरुमा विद्युतिय हाजिरी प्रणाली (ई–हाजिरी) जडान गरिएको छ । वडाभित्र रहेका जानकी मावी सितापुरमा ईन्टरनेट सहित ई–हाजिरी प्रणाली जडान गरिएको छ भने अन्य विद्यालयहरु शंकर आधारभुत विद्यालय शिवरामपुर, गणेश आधारभुत विद्यालय दमौरा, घण्टेश्वर आधारभुत विद्यालय खमौरा र घण्टेश्वर मन्दीर आधारभुत विद्यालय खमौरामा ई–हाजिरी जडान गरिएको हो ।
वडा कार्यालयको २ लाख रुपैया लगानीमा वडाभित्रका ५ वटा सामुदायीक विद्यालयहरुमा विद्युतीय हाजीरी प्रणाली जडान गरिएको हो । विद्यालयमा शिक्षाको गुणस्तरमा सुधार ल्याउन र शिक्षकहरुको नियमित उपस्थीतिका लागी विद्युतिय हाजिरी प्रणाली जडान गरिएको वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) ले बताए । ‘विद्यालयमा सिकाईने असल कुराहरुले नै समाज सकारात्मक दिशा तर्फ अगाडी बढ्छ’ उनले भने ‘जडान गरिएका ईन्टरनेट र विद्युतिय हाजिरी प्रणालीको माध्यमबाट विद्यालयमा शिक्षाको गुणस्तर बृद्विका साथै सभ्य समाजको निर्माण हुने अपेक्षा लिएका छौ ।’ शिक्षा र अनुशासन बिनाको समाज अधुरो हुने र शिक्षा भएमात्रै समाज अगाडी बढ्ने हुदाँ सम्पुर्ण जनतामा सभ्य शिक्षाको पहुँच पु¥याउन युवावर्गले लाग्न आवश्यक भएको उनको भनाई छ । यसैगरी वडासदस्य भुवन भट्टले सामुदायीक विद्यालयहरुमा गुणस्तरिय शिक्षाको कमी हुने हुदाँ अहिले सामुदायीक विद्यालयहरु भन्दा निजि विद्यालयहरुमा आफ्ना नानीबाबुहरु पढाउने प्रचलन बढेको बताए । ‘सरकारले निःशुल्क रुपमा उपलब्ध गराईरहेको शिक्षा भन्दा पनि पैसा तिरेर निजि विद्यालयहरुमा अभिभावकहरुले बालबालीकाहरु भर्ना गराउने गरेका छन’ उनले भने ‘सामुदायीक विद्यालयहरुको शिक्षामा गुणस्तर नभएर नै अभिभावकहरुले त्यस्तो गर्ने गरेका हुन ।’ वडाभित्रका सामुदायीक विद्यालयहरुमा शिक्षाको गुणस्तरमा बृद्वी गरी वडाभित्रका सम्पुर्ण बालबालीकाहरुलाई सामुदायीक विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्ने उद्देश्यले नै ई–हाजिरी प्रणाली जडान गरेको उनको भनाई छ ।